काठ्माण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दल बाहेक सबै दलले विश्वासको मत दिनेभएका छन् । प्रतिनिधिसभामा सहभागि लगभग सबै दलबाट विश्वासको मत पाउदैछन् । सत्तागठबन्धन बाहेकका दलको समेत समर्थन पाएपछि प्रचण्डको सरकार राष्ट्रिय सरकार हुने देखिन्छ । संसदमा प्रतिपक्षनै नहुने वातावरण बनेको छ ।
नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने अडान छाडेका छैनन् । नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सांसद छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत विश्वासको मत दिनेभएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने पक्षमा फरक मत राखेका थिए ।
१० सिट रहेको एकिकृत समाजवादीले पनि समर्थन गर्दैछ । ४ सिट रहेको लोसपाले पनि विश्वासको मत दिने भएको छ । प्रचण्ड १० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । कांग्रेस, एकिकृत समाजवादीले सरकारलाई समर्थन गरेपनि सत्ताबाहिरै रहने जनाएको छ ।