भरतपुर । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । यही चैत ४ गते काठ्माण्डौमा हुने १९ अधिवेशनबाट नेतृत्व लिने दाउमा कलाकारहरुले समूह बनाउन थालेका छन् । अध्यक्षको दाबी गर्नेहरुमा अभिनेता सुशान्तकुमार श्रेष्ठ, सविन श्रेष्ठ, मोहन निरौला, अभिनेत्री रेजिना उप्रेतीको नाम चर्चामा छ । २२ वर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय सुशान्तकुमार चलचित्र विकास बोर्ड सल्लाहकार समिति सदस्य समेत हुन् ।
मकवानपुर घर भएका सुशान्त समय, दबाब, हल्दार सुन्तली, किस्मत दुई, मिसन पैसा रिलोटेड, डाँडाको वरविपल लगायतका चलचित्रमा अभिनय गरेका छन् । फन्को, संरक्षण, पञ्चायत, पिञ्जडा व्याक अगेन, लभसब लगायतका चलचित्रहरु निर्माण गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्–अग्रजहरुलाई सम्मान अनि युवापुस्तालाई प्रोत्साहन गर्दै सबै अटने अनि सबै जुटने कलाकार संघलाई अझ मर्यादित र व्यावसायिक बनाउदै लाने अठोटका अध्यक्ष पदको उम्मेदवारी दिदैछु ।
अभिनेता सविन श्रेष्ठ पनि चुनावी मैदानमा छन् । हवल्दार सुन्तली, हिरो रिटन्र्स, लक्ष्य, नमस्ते नेपाल, रावण, वर्षात, भाग सानी भाग, दमदार लगायतका चलचित्रमा अभियान गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–बोलेर भन्दा गरेर देखाउनेछु, नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको हक, हित साथ, सहयोग र उन्नतिको लागि रात दिन सेवामा समर्पण हुने कसम खादैछु ।” उनले कलाकार संघमा नयाँपुस्ता ल्याउन लाग्ने बताए ।
अध्यक्षका दाबेदार कलाकार मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आर्दश नारी, बेहुली, स्वर्ग, नाता, आर्शिवाद, जन्म मत्यु, अजम्बरी नाता, रावण लगायतका १ सय बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनले सम्पति, पुकार, जन्मभूमि जस्ता चलचित्रका निर्देशक समेत हुन् । उनी कला, साहित्य, संस्कृति र चलचित्र क्षेत्रमा भएको अतिक्रमणविरुद्ध ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’समेत चलाउँदै आएका छन् । निरौला वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् । संघमा गरेको काम र कलाकारिता क्षेत्रमा पाएको अनुभवकै कारण अध्यक्षमा दाबी गरेको बताएका छन् ।
यस्तै अभिनेत्री रेजिना उप्रेतीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनी संघको बरिष्ठ उपाध्यक्षसम्म भैसकेकी छन् । खान्दान, दुर्गा, अनमोल, अग्नीज्वाला, बरदान, अग्नीपथ, धुम लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकि छन्,–संघलाई क्रियाशिल र रचनात्मक बनाउने प्रयास नै हो । उनले २४ वर्ष चलचित्र क्षेत्रमा आँफुले गरेको काम र अनुभवका कारण संघलाई सबल र सक्षम बनाउदै हकहितका लागि लागिपर्ने बताएकी छन् ।