काठमाडौं । नेपाल टी–२० लिगमा फिक्सिङ भएको प्रारम्भिक अनुसन्धान सार्वजनिक भएको छ ।काठमाडौंको कीर्तिपुरमा जारी लिगमा सुरूवात देखि नै विवाद कायम थियो । लिगमा बेटिङ र स्पट फिक्सिङको आशंका गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट देखिएको छ । उक्त आशंकापछि सिआइबीले डिएसपीको नेतृत्वमा अनुसन्धान गरिरहेको छ । यसो त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि लिगमा भएको अवैध बेटिङ र फिक्सिङको आशंकामाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
सिआइबीको प्रारम्भिक अनुसन्धानबाट पनि खेलाडीहरू स्पट फिक्सिङमा लागेको देखिएको उच्च स्रोतले जानकारी दियो । स्पट फिक्सिङमा ३ जना नेपाली खेलाडी र कम्तीमा चार जना विदेशी खेलाडी संलग्न भएको स्रोतले बतायो । उनीहरूलाई एक पटक स्पट फिक्सिङ गरे बापत एक देखि ३ लाखसम्मको अफर गर्ने गरिएको देखिएको छ ।
नेपाल टी–२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतीय कम्पनीलाई विना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो । सेभेन थ्रीकै संग्लग्नतामा फिक्सिङका लागि खेलाडीलाई प्रयोग गर्ने गरिएको क्यानका एक केन्द्रीय सदस्यको आरोप छ । यस्तै लिग विवादित बनेपछि सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया भारत पुगेका थिए ।
लिग विवादित बनेपछि आइसिसीका प्रतिनिधि टिम समेत आएको थिए। उक्त टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो । आइसिसीको टिमले सिआइबीको अनुसन्धानलाई सहयोग गर्ने बताएको थियो ।
समूह चरणको खेल भइरहदा कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आशंका गर्दै आफू अलग भएको घोषणा गरेपछि लिग थप विवादित बनेको थियो। लगत्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङका लागि ’अफर’ गरिएको बताएका थिए ।