काठमाडौं । नेकपा माओवादी केन्द्रले बृहत वाम एकता गर्ने भन्दै वार्ता टोली बनायो । पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति पनि बन्यो । वार्ता टोलीका अन्य सदस्यहरुमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जर्नादन शर्मा र शक्ति बस्नेत छन् ।सरकारको नेतृत्व गरिरहेको माओवादीले अहिले एकता गर्नका लागि पार्टीहरुको सूची तयार पारेको छ । बृहत वाम एकताको पहलका लागि भन्दै गठन गरिएको वार्ता टोलीको पहिलो बैठकले एकताका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार गरेको वार्ता टोलीका संयोजक महराले बताए ।
एकताका लागि पहिलो प्राथमिकता बाबुराम भट्टराई र माधव नेपालको पार्टीलाई राखेको वार्ता वार्ता टोली सदस्य रहेका पोखरेलले बताए । ‘बाबुराम र एकीकृत समाजवादी पहिलेदेखि कुनै न कुनैसँग छलफल चलेका थिए,’ उनले भने, ‘उहाँहरुसँग उच्च तहमा छलफल भएका छन् । पहिलो प्राथमिकता तिनीहरुसँग छलफल गर्ने हुन्छ ।’
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले चुनावपछि एकता गर्ने सहमतिसहित माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको थियो । भट्टराईले समाजवादी केन्द्र बनाउनुपर्ने बताउँदै आएका छन् । आइतबारदेखि सुरु भएको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठकले एकताबारे निर्णय लिने नेताहरुले बताएका छन् ।
त्यस्तै प्रभु साहसँग पनि वार्ताका लागि छलफल हुने माओवादी नेताहरुले बताएका छन् । साहले हालै आम जनता पार्टी खोलेका छन् । एमालेसँग जान नसक्ने भएकाले साह समेत माओवादीमै आउने नेताहरुको भनाइ छ ।
उपमहासचिव पोखरेलले संसद बाहिर रहेका शक्तिहरुसँग पनि एकताका लागि वार्ता टोलीले छलफल गर्ने बताए । माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द्र, धर्मेन्द्र बास्तोला, मोहन वैद्य लगायतका पार्टी संसद बाहिर छन् । उनीहरुसँग समेत एकताको पहल गरेर शक्ति हासिल गर्ने माओवादी नीति देखिन्छ ।