काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुसँग छलफल गरेका छन् ।प्रमुख एवं आयुक्तहरु उपस्थित उक्त छलफलमा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिमा जोड दिएको सचिवालयले जनाएको छ ।आइतबार बिहान सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिमा आफू केन्द्रित रहने बताएका छन् ।
‘सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ ।सचिवहरूसँगको छलफलमा पनि मैले त्यही कुरा प्राथमिकताका साथ राखेको छु । जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् ।
न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीले जानकारी गराएका छन् ।आयोगलाई लागि चाहिने सबै सहयोग गर्न तयार रहेको भन्दै ऐन संशोधन, क्षमता अभिवृद्धि, संरचनागत सुधारलगायतका काममा सरकारले प्रभावकारी भूमिका खेल्ने पनि उनले आश्वस्त पारे ।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले आफूहरू उत्साहित भएको बताए । उनका अनुसार संसदमा विचाराधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र विस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ ।