काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसिरहेको छ ।प्रदेश सरकारको नेतृत्वमा सहमति खोज्नका लागि सत्ता गठबन्धनको बैठक बसेको हो ।बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल भईरहेको प्रचण्ड निकट स्रोतले बतायो । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने छ ।
प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन् । शीर्ष नेताहरुबीच भागबण्डा नमिलेकाले प्रदेश प्रमुखसमक्ष कसले दाबी प्रस्तुत गर्ने भन्ने विषय अन्यौल छ । यद्यपि प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले भएकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना छ ।
यसैगरी बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ । बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने म्याद छ ।
त्यसैले आफूले विश्वासको मत लिनु अगाडि नै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटाउनुपर्ने दबावमा प्रधानमन्त्री प्रचण्ड छन् । स्रोतका अनुसार सातवटै प्रदेशमा प्याकेजमा सहमति खोज्ने प्रयास आजको बैठकमा हुने छ ।