भरतपुर । चितवन सहायता कोष बेल्जियमले चितवन सहित आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्न तत्पर रहेको जनाएको छ । गैडाकोटमा पत्रकारहरुसँग कुराकानी गर्दै चितवन सहायता कोष (क्याट) बेल्जियमका उपाध्यक्ष उत्तमकुमार मल्लले असहाय तथा विपन्नहरुलाई सहयोग गर्ने कामलाई निरन्तरता दिइने बताए ।
सन् २००५ जुन १९ मा स्थापना भएको क्याट बेल्जियम चितवन घर भएर रोजगारिका लागि बेल्जियममा रहेका नेपालीहरुको सामाजिक संस्था हो । कार्यसमितिबाट मासिक ३ युरो संकलन गरी सामाजिक कार्यमा लगानी गरिएको थियो । संस्थाले २०६७ सालदेखि भरतपुर अस्पतालमा रहेका थालेसिमियाका बिरामीलाई निशुल्क रगत व्यवस्थापन र भैपरी खर्चमा सहयोग गर्दै आइरहेको छ । थालेसिमिया शरिरले रगत लिन नसक्ने अवस्था हो । भरतपुर अस्पतालमा उपचार गराएका थालेसिमियाका ९२ जना मध्ये ५५ जनाले नियमित उपचार गराउँदै आइरहेका छन् ।
संस्थाले पछिल्लो ३ वर्ष यता थालेसिमियाका बिरामीको स्वास्थ्य विमा पनि गरिदिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको साम्राङको एक आधारभूत विद्यालयको भवन निर्माणमा समेत सहयोग गरेको थियो । संस्थाले स्वास्थ्य शिविर, आर्थिक सहयोग, न्यानो कपडा सहयोग, शैक्षिक सामाग्रि हस्तान्तरण, विपन्नको उपचारमा सहयोग जस्ता सामाजिक कामहरु गर्दै आइरहेको छ । संस्थाका पूर्वअध्यक्ष दिनेश भण्डारीले संस्थामार्फत हालसम्म ८० लाख बढी सहयोग भैसकेको बताए ।
उनका अनुसार १ करोड बराबरको अक्षयकोषनै बनाएर गरिव, विपन्न समुदायमा सहयोग गर्दै आइरहेको बताए । संस्थाका सचिव सागर अधिकारीले चितवन र आसपासका जिल्लामा शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्न तत्पर रहेको बताए । चितवन सहायता समाजका अध्यक्ष राजेन्द्र पौडेलले प्रवासमा बसेर पनि क्याट बेल्जियमले उल्लेखनीय सामाजिक कामहरु गरेको बताए ।