भरतपुर । भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष राजु पौडेलले अस्पतालको स्वेतपत्र जारी गरेका छन् । उनले अस्पतालमा हाल भएका सेवा, सुविधा, जनशक्ति, पूर्वाधार लगायतका विवरण सहितको स्वेतपत्र जारी गरेका हुन् ।
पूर्वाधार र जनशक्ति अभावले जनअपेक्षित सेवा प्रवाह हुन नसकेको र त्यसतर्फ कदम चाल्नुपर्ने देखिएको छ । सरकारी दरबन्दीको न्यून कर्मचारी, बिरामीको अनुपातमा पर्याप्त जनशक्ति र उपकरण अभाव रहेको स्वेतपत्रमा झल्काईएको छ । अस्पतालमा गत आर्थिक वर्ष २०७८÷०७९ मा २ लाख ५२ हजा ८९४ जनाले बहिरंग (ओपिडि) सेवा लिएको देखिन्छ । आकस्मिक कक्षमा २७ हजार ६१७ जना र २६ हजार ८४० जनाले भर्ना भएर सेवा लिएका छन् । अस्पतालका ६०० शैयामध्ये ७८.६१ प्रतिशत अक्युपेन्सी गत आर्थिक वर्षमा छ । अस्पतालमा भर्ना हुने बिरामीको सरदर बसाई ४ दिन हुने गरेको श्वेतपत्रमा उल्लेख छ । यसैगरी अस्पतालमा मृत्युदर, ०.९१ प्रतिशत, शल्यक्रियासँग सम्बन्धित मृत्युदर ०.१ प्रतिशत रहेको छ ।
गुरुयोजना अनुसारको काम हुन नसक्नुले पनि सेवा प्रभावित भएको अध्यक्ष पौडेलको भनाई छ । सरकारी ५०० बेड अनुसार १ हजार ८४ दरबन्दी स्वीकृत गराउनु पर्ने भन्दै मेडिकल कलेज वा प्रतिष्ठान बनाउन संस्दबाटै ऐन पास गर्नु महत्वपूर्ण विषय भएको बताए । सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले सार्वजनिक खरिद ऐन अनुसार औषधि खरिद प्रक्रियाले टेण्डर नै नपर्ने समस्याले फार्मेसीमा पर्याप्त औषधि नहुने गरेको बताए ।
उनले कम चल्ने औषधिहरुको टेण्डर नै नपर्ने गरेको भन्दै टेण्डर परेकाहरुले पनि समयमा औषधि नदिंदा समस्या हुने गरेको बताए । उनले समयमा आपूर्ति नगर्ने १० वटा सप्लायर्सलाई कारवाही गरिसकिएको पनि जानकारी दिए ।