भरतपुर । भरतपुर अस्पतालका सुरक्षा गार्ड सुनको ब्रासलेट चोरी गरेको आरोपमा पक्राउ परेका छन् । सवारी दुर्घटनामा घाइते भै भरतपुर अस्पताल उपचारमा ल्याइएका मृतक सञ्जिवबहादुर रायमाझिको हातबाट सुनको ब्रासलेट चोरी गरेको आरोप लागेको छ ।
पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका– ६ का स्थायी बासिन्दा हाल भरतपुर–७ मा बस्दै आएका २७ वर्षिय कृष्ण राई रहेका छन् । उपचारका लागि ल्याइएका रायमाझिको शव आकस्मिक कक्ष नजिकै राखिएको कोठाबाटै सुन चोरेको आरोप लगाइएको छ । पुस १७ नारायणगढ–मुग्लिन सडक अन्र्तगत भरतपुर–२९ स्थित केराबारीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा रायमाझि घाइते भएका थिए ।
ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमति प्रदेश ०३–००३ प ६५७४ नं.को मोटरसाईकललाई ठक्कर दिएको थियो । रायमाझि मोटरसाइकल चालक थिए । तनहुँको भानु नगरपालिका–२ स्थायी घरभएका रायमाझि भरतपुर– १ बस्दै आएका थिए । मृतकको आफन्तले ब्रासलेट चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान भैरहेको जानकारी दिए ।