काठ्माण्डौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ संवैधानिक इजलासमा जारी छ । गृहमन्त्री लामिछानेसँग नेपाली नागरिकता नभएकाले सांसद पद खारेज हुनुपर्ने माग कानुन व्यवसायीहरुले गरेका छन् । रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले नागरिकतानै नभएको व्यक्ति सांसद हुनै नसक्ने बताए ।
अधिवक्ताहरु सुरेन्द्र भण्डारी, अमृत खरेल, रमण कर्ण लगायतले अमेरिकाबाट फर्किने क्रममा गैरपर्यटक भिसामा आएको जीकिर गरेका छन् । लामिछानेले नेपाली नागरिकता लिएको प्रमाण पेश नगरेकाले उनी नेपाली नागरिक नभएको जीकिर गरेका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा सुनवाई भैरहेको छ ।
सहन्यायाधिवक्ता सञ्जिव रेग्मीले भने लामिछानेको नागरिकताबारे कुनै निर्णय नगरेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएका छन् । केहीबेरपछि लामिछानेका निजी कानुन व्यवसायीहरुले बहस गर्ने छन् ।