काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले उपराष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेकी छन् । ४ मंसिरमा भएको चुनावमा शर्माले पोखरेललाई १९३ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन् । तर उनलाई उपराष्ट्रपति बनाउदैं सांसदबाट राजीनामा गराएर एमाले महासचिव शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास तत्काललाई रोकिएको छ ।
नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै दाङ–२ बाट निर्वाचित शर्मालाई राजीनामा गराउने र पोखरेललाई उपचुनाव लडाएर सांसद ल्याउने प्रयास भएको थियो । उनी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुन् । तर संसदको अधिवेशन सुरु नहुँदै उनलाई राजीनामा गराउने प्रयास भएको खुलेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र एमालेका ओली दुबैले रेखासँग छलफल समेत गरेका थिए । ओलीले बालकोटस्थित निवासमै बोलाएर रेखालाई सांसद पदबाट राजीनामा दिन र उपराष्ट्रपति बन्न प्रस्ताव राखेका थिए ।मतदाताले विकासका काम गर्ने शर्तमा आफूलाई चुनावमा जिताएर पठाएको भन्दै उनले त्यो जिम्मेवारी पूरा नगरेसम्म दायाँ–वायाँ गर्ने छुट नभएको जवाफ दिएकी छन् । यता एमाले महासचिव पोखरेलले भने उपचुनाव लडेर सांसदमा आउने विषय आफूले नसोचेको बताएका छन् ।