काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैतमै हुने सम्भावना बलियो बन्दै गएको छ । विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते स्ववियु निर्वाचन गराउने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थी नेताहरु नेतृत्व हात पार्न सक्रिय बन्न थालेका छन् ।
आज (बिहीबार) विद्यार्थी कल्याण परिषद्को बैठकले चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । भोलि शुक्रबार त्रिविको कार्यकारी बैठक बस्दैछ ।
सो बैठकले निर्वाचन हुने मिति तोक्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचन सम्बन्धी कार्यक्रम ३ दिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । २०६५ देखि स्ववीयु निर्वाचन नियमित हुन सकेको थिएन । त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।