भरतपुर । भरतपुरमा नेपालकै सबैभन्दा ठुलो क्षमताको खानेपानी ट्याङकीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ९ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी नेपालमै पहिलो पटक बनाइएको हो । जखडीमाई सह–लगानी खानेपानी आयोजना अन्र्तगत ३२ करोड ८५ लाख खर्चेर २०७७ असारदेखि निर्माणाधिन रहेको छ ।
१६ मिटर उचाईमा पानी संकलन गर्ने गरी संरचना निर्माणाधिन छ । भरतपुर महानगरका मेयर रेनु दाहालले डेढ महिनाभित्र निर्माण कार्य सकिने बताइन् । “महानगरभित्र खानेपानीकै लागि झण्डै ४ अर्ब बढी बजेट परिसकेको छ”, उनले भनिन्, “नेपालकै नमुना ओभरहेड ट्यांकी बन्दैछ, खानेपानी समस्यामुक्त महानगर बनाउन प्रयत्नशील छौँ ।”
रेनु दाहालको पहिलो कार्याकालमा विना मगर तत्कालिन खानेपानी मन्त्री भएका बेला यो बजेट परेको थियो । संघीय सरकारले ७० प्रतिशत र खानेपानी व्यवस्थापन बोर्डले ३० प्रतिशत लगानी गरेको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिए । बोर्डको कार्यालय नजिकै ९ लाख लिटर क्षमताको र जखडीमाईमा ४ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माणाधिन रहेको छ ।
“जाइकाको सहयोगमा बनेको स्टिल स्ट्रक्चर जीर्ण भएकाले ठुलो क्षमताको ट्यांकी बनाएका हौँ”, उनले भने, “महानगरको मुख्य बजार क्षेत्रमा पानी प्रवाह गर्न थप सहज हुनेछ ।” जखडीमाई सहलगानी खानेपानी आयोजनाबाट ३ हजार बढी घरहरु लाभान्वित हुनेछन् ।
७ किलोमिटरमध्ये ६ किलोमिटरसम्म जिआई पाइप जडान कार्य सकिएको छ । मेयर दाहाल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर, खानेपानी बोर्ड लगायतका पदाधिकारीहरुले निर्माण कार्यको अनुगमन गरेका थिए ।