काठमाडौं । बागमती र लुम्बिनी प्रदेश सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आव्हान भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र त्यसपछि केन्द्र र प्रदेशको भागवण्डा टुंग्याउने तयारी थियो । यससँगै सत्तारुढ दलहरु अप्ठ्यारोमा परेका छन् । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व र मन्त्रालय भागवण्डा भइसकेको छैन
एमाले र माओवादीका नेताहरुले बाग्मतीमा पनि त्यसअनुसार नै सरकार गठनको प्रक्रिया अघि बढोस् भन्ने चाहेका थिए । किनकी एमाले र माओवादी मात्र मिलेर सरकार बन्दैन । राप्रपाको समर्थन अनिवार्य छ । राप्रपाले केन्द्रमा सरकारलाई समर्थन गर्ने बताएपनि सहभागी हुने वा नहुने टुंग्याएको छैन । प्रदेशमा पनि निर्णय भएको छैन । सरकारमा सहभागी भएको अवस्थामा बाग्मती प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिने सम्भावना छ ।
लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् ।उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसंग सरकार गठनका लागि पर्याप्त वहुमत अर्थात ५२ सांसद छन् । स्वतन्त्रबाट जितेका रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेकाले ५३ सांसद पुगेका छन् ।