धनगढी । सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयनका विषयमा अन्योलता देखिएको छ । यसै विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेसको बैठकले कुनै निष्कर्ष दिन सकेन । कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारीसहितको बैठकमा ६ जनाले प्रस्तुत गरेका छन् । प्रदेश महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले पदाधिकारीको बैठकमा दलको नेताका आकांक्षीहरुले आआफ्नो धारणा राखेको बताए ।
संसदीय दलको नेतामा खड्का, बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट र प्रकाश देउवाले आकांक्षा राखेका छन् ।बैठकमा उनीहरु सबैलाई पालैपालो धारणा राख्न समय दिइएको थियो । सकेसम्म दलको नेता सर्वसम्मत रुपमा चयन गर्न प्रदेश पदाधिकारीले सुझाव दिएको खड्काले बताए । सहमति नभए निर्वाचन समिति बनाएर चुनावमा जाने विषयमा समेत छलफल भएको जानकारी दिए ।
बैठकमा सहभागी एक जना प्रदेशसभा सदस्यकाअनुसार आकांक्षीहरुलाई एक जनाको नाममा सहमति गर्न भनिएको थियो तर उनीहरुबीच सहमतिको वातावरण नबेपछि बैठक टुंगिएको थियो । सुदूरपश्चिम प्रदेशसभामा १९ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य पार्टीले यसअघि नै संसदीय दलको नेता चयन गरिसकेका छन् तर कांग्रेसले भने अहिलेसम्म निर्णय लिन सकेको छैन ।