चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुरमा लगानी सम्मेलन’को तयारी थालिएको बताएकी छन् । होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनको भरतपुरमा उद्घाटन गर्दै मेयर दाहालले यही वर्षभित्र लगानी सम्मेलन गर्ने तयारी भएको बताइन् ।
लगानी सम्मेलनमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई भरतपुरमा बोलाएर यहाँको विभिन्न क्षेत्रमा गर्न सकिने लगानीबारे सम्भावना प्रस्तुत गरिने जानकारी दिइन् । भरतपुरको पर्यटकीय क्षेत्रमा लगानी गर्ने वातावरण उच्च रहेको उनको भनाई थियो ।
भरतपुरमा निर्माणधिन भौतिक पूर्वाधार निर्माण सम्पन्न भएसँगै पर्यटकीय गतिविधि वृद्धि हुने दाबी समेत गरिन् । भरतपुर महानगरपालिका दुई ठूला नदीले घेरिएको जल, जमिन र जंगलको अनुपम स्थल भएकाले हरेक क्षेत्रमा प्रचुर सम्भावना रहेको मेयर दाहालको भनाई छ ।
भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको भन्दै मेयर दाहालले सन् २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा स्वास्थ्य पर्यटन, कृषि पर्यटन, शिक्षा पर्यटन तथा अन्य सबै पर्यटनको अवलोकन गर्न निमन्त्रणा गरिने बताइन् ।