भरतपुर । गृहमन्त्री रवी लामिछानेलाई कार्यदलले मिटरव्याजी अपराध रोक्न तयार भएको कानुनको मस्यौदा बुझाएको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाकाृ निर्देशनमा गत साउन २७ मा गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरव्याजी अपराधन नियन्त्रणका उपाय सिफारिस गर्न कार्यदल गठन भएको थियो ।
कार्यदलले गत भदौ २७ मै तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । देशभरमा ३ हजार १ सय वटा मिटरव्याज सम्बन्धि उजुरीहरु परेका छन् । गृहमन्त्रालयका अनुसार सर्लाहीमा ५ सय ६७, नवलपरासीमा ४ सय ५४ र जनकपुरमा २ सय ७५ वटा उजुरी परेका छन् ।
चितवनमा मिटरव्याजी ठगिका २३ उजुरी
चितवनमा मिटरव्याजी ठगिका उजुरीहरु पर्ने क्रम बढेको छ । न्यायको खोजी गर्दै पीडितले जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दिएका हुन् । हालसम्म चितवनमा २३ वटा उजुरीहरु दर्ता भएका छन् । दर्ता भएकामध्ये १ मात्र उजुरीको समाधान भएको छ ।
२ वटा उजुरी कारवाहीको चरणमा छन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मिटरव्याजी अपराध हो–होइन भनेर पहिचान गर्नै समस्या भएको बताए । “पीडक र पीडितलाई सहमतिमा ल्याउने प्रयास गरेका छौँ”, उनले भने, “मिटरव्याजी ठगि मुद्धाभित्र रहेर कारवाही गर्नुपर्छ ।” सहमति हुन नसकेका धेरै उजुरीहरुलाई थप अनुसन्धानका लागि प्रहरीमा पठाइएको जानकारी दिए ।