काठ्माण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन् । सोमबार र आज सचिवहरुसँग छलफल गरेपछि प्रधानमन्त्री दाहालले जनताले सेवा लिन खोज्दा भोग्नुपरेका समस्या र सास्ती हटाउन निर्देशन दिएका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, संवैधानिक आयोग र निकायका सचिवहरूले प्रधानमन्त्रीसमक्ष प्रगति विवरण, समस्या र चुनौती सुनाएपछि प्रधानमन्त्रीले अब कमजोरी अरुलाई पन्छ्याएर कर्मचारीहरु उम्किन नमिल्ने भन्दै चेतावनी समेत दिए । उनले भने, “सेवाग्राहीले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारवाही गर्नुपर्ने अवस्थामा आउनेछ ।”
उनले सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट, सरकारी अस्पतालमा बिरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले लाइनमा बस्नुपर्ने बाध्यता हटाउन निर्देशन दिएका छन् । नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले निजामती प्रशासन र सरकारी संयन्त्रबाट पूर्णसहयोग पाउने विश्वास जनाए । ठूला नीतिगत र दीर्घकालीन विषयहरूभन्दा पनि नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाहका विषय र विकास निर्माण र आयोजना सञ्चालनका विषयमा सम्बोधन केन्द्रित गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।