काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् ।उनका प्रमुख स्वकीय सचिव विजय गौतमले यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा आएको बताए ।
मन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग कामको प्रगतिबारे जानकारी लिनाका साथै र सेवाग्राहीहरुको गुनासा सुनेका छन् । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरे पनि सेवाग्राहीले सास्ती भोग्दै आएका छन् ।
लाइसेन्सका लागि लिखित परीक्षा तथा ‘ट्रायल’ पास गरिसकेका सेवाग्राहीलाई विभागले पालोमा राखिरहेको छ ।परीक्षा पास गरेको कागजका भरमा कतिपयले वर्ष दिनदेखि सवारीसाधन चलाइरहेका छन्। लाइसेन्स कहिले पाइन्छ भन्ने प्रश्नको जवाफ यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छैन ।