काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सहज सेवा प्रदान गर्न र सुशासन कार्यम गर्न निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । सरकारका कामहरु प्रभावकारी बनमाउन सोमबार सचिवहरुसँग छलफल गरेका प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले सचिवका कार्यविवरण सुनिसकेपछि आवश्यक निर्देशन दिने भएका हुन्। प्रचण्ड यही पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए।
विशेषगरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरूसँग छलफल गरेका हुन् ।
केही सचिव र विभागका प्रमुखले आआफ्ना विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए।