काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य र प्राप्तिमा रहेको खाडल पुर्ने गरी कार्ययोजना बनाउन सम्बद्ध कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालय प्रमुखसहितका कर्मचारीसँगको छलफलमा उनले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको बताए । उनले लक्ष्य अनुसारको राजस्व संकलन गर्न राजस्व प्रशासनमा सबैको साझा प्रतिबद्धताका लागि दुवै निकायका कर्मचारीसँग छलफल गरेको मन्त्रालयको भनाइ छ ।
अर्थमन्त्री पौडेलले दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनु पर्ने बताए । उनले हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व संकलन गर्न सोही अनुसारको कार्ययोजना बनाउन निर्देशन दिए । उनले रावस्व परिचालनका लागि विभाग तथा कार्यालयहरुलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने बताए ।
उनले कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन निर्देशन दिए । साथै निर्दोषलाई त्रसित भने नबनाउन निर्देशन दिए ।उनले स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण र व्यापार सहजीकरण गर्न समेत निर्देशन दिए । अर्थमन्त्री पौडेलले करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना बढाउन समेत निर्देशन दिए ।