भरतपुर । मौलाकालिका केबलकार आगामी फागुन अन्तिमसम्म सञ्चालनमा आउने भएको छ । केबलकार प्रालीले भौतिक संरचना निर्माणको अन्तिम चरणमा रहेकाले सञ्चालनको तयारी थालेको हो । अहिले दैनिक १५० जना श्रमिक निर्माणमा खटिएका छन् । ६० प्रतिशत काम सकिएको प्रोजेक्ट प्रमुख ईञ्जिनियर विजय पौडेलले बताए । माघ अन्तिमसम्म केबलकारको बक्स राखिने उनले जनाए ।
१२ सय मिटर लम्बाई र २० मिटर चौडाई रहेको सो भुगोलमा केबलकारको पोल बनिसकेको छ । प्रत्येक बक्समा ८ जना यात्रु रहेको व्यवस्था छ भने १२ वटा बक्स रहनेछन् । सामान ढुवानीका लागि थप २ बक्स समेत राखिने छ । केबलकार सञ्चालनमा आएपछि फेदीबाट ५ मिनेटमा मन्दिर परिसरमा पुगिनेछ ।
हामी निर्माण सम्पन्न गर्ने तयारीमा छौं, इ. विजय पौडेलले भने,‘ यस कार्यमा डोप्बल मेयर नामको अष्ट्रेलियन कम्पनीका विज्ञ समेत खटिएका छन् ।’ केबलकारका लागि आवश्यक सामाग्री अष्ट्रेलियाबाटै आएको उनले बताए ।१० महिना अघि निर्माण थालिएको सो संरचना तयार हुदाँसम्म २ अर्ब लगानी रहेको उनले बताए । स्थानियको ४९ र आईएमई समुहको ५१ प्रतिशत लगानी छ । व्यवसायी चन्द्र ढकाल सम्बद्ध आईएमई समुहले यसअघि काठमाडौंमा चन्द्रागिरी केबलकार सञ्चालनमा छ । चन्द्रागिरीको सफलतापछि गैंडाकोटमा रहेको मौलाकालिका धार्मिक स्थल केन्द्रित केबलकार सञ्चालनमा आउन लागेको हो ।