भरतपुर । नेपाल चिकित्सक संघको निर्वाचन यही माघमा हुदैछ । उपत्यकाबाहिर ६ र ७ गते, उपत्यकामा १९ देखि २१ गते निर्वाचन हुने कार्यतालिका बनेको छ । नेपाल चिकित्सक संघ चिकित्सकहरुको साझा संगठन हो । नेतृत्वमा पुग्न दुई समूह बनेका छन् ।
पेशागत समावेशी समूहबाट डा.सन्तोष पौडेल र लोकतान्त्रिक समावेशी समूहबाट डा.अनिलविक्रम कार्कीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । डा.पौडेल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् । उनी वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् । डा. कार्की चितवनको बीपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत छन् । उनी नाक–कान–घाँटी क्यान्सर रोग विशेषज्ञ हुन् ।
अध्यक्षका उम्मेदवार डा. सन्तोष पौडेलले चिकित्सकहरूको हकहित एवं एकताको प्रवर्धन गर्न नेतृत्वका लागि उम्मेदवारी दिएको बताउँछन् । उनले संघलाई सीमित चिकित्सकको मात्रै क्लब हुनबाट जोगाउँदै देशभरका चिकित्सकलाई समेट्ने बताए । अध्यक्षका उम्मेदवार डा. अनिलविक्रम कार्कीले सबै चिकित्सकको साझा हित र उनीहरूको परिवारका लागि छुट्टै ‘डेडिकेटेड’ अस्पताल निर्माणका लागि पहल गर्ने योजना सहित उम्मेदवारी दिएको बताउँछन् । उनले ड्युटी आवर व्यवस्थित पार्ने, फोर्स लिभका लागि पहल गर्ने, चिकित्सा सेवा आयोग स्थापना र चिकित्सक ऐनका लागि पहल गर्ने लगायतका योजना अगाडी सारेका छन् ।
पौडेलको समूहमा उपाध्यक्षहरुमा मधेश प्रदेशबाट डा. महेश महासेठ, बागमतीबाट डा सञ्जय ठाकुर, गण्डकीबाट डा. विकास गौचन र सुदूरपश्चिमबट डा.निरज अर्याल उम्मेदवार छन् । महासचिव पदमा डा. रक्षा श्रेष्ठको उम्मेदवारी छ । सदस्यहरूमा डा.अभियान गौतम, डा. रामकृष्ण आचार्य, डा. पदम नेपाली, डा. रमेश श्रेष्ठ, डा. स्मृति महत र डा. सुरेन्द्र यादव उम्मेदवार छन् ।
कार्कीको समूहमा उपाध्यक्ष तथा मधेश प्रदेश संयोजकमा डा. निरजकुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजकमा डा. प्रशान्त भट्ट उम्मेदवार छन् । महासचिवमा डा.सञ्जीव तिवारी, सदस्यहरुमा डा.अमितरञ्जन मिश्र, डा.सिर्जना विष्ट, डा. किशोर खत्री, डा.मनोर दिन सैयद, डा. तेजसु सिंह मल्ल र डा. योविनकुमार यादवले उम्मेदवारी दिएका छन् ।
यो समूहबाट निर्वाचनमा उम्मेदवारी दिएका सात जना निर्विरोध निर्वाचित भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजकमा डा.विपेश आचार्य, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजकमा डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजकमा डा. केशरबहादुर ढकाल, कोषाध्यक्ष डा. प्रमोद जोशी, सहकोषाध्यक्ष डा. विक्रान्त ढकाल र सहसचिव डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।