विराटनगर । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । तर दलहरुले अझैसम्म नेतृत्व टुंग्याउन सकेका छैनन् । उनीहरुले आफ्नै दाबी गर्न थालेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा रहेका दलको प्रष्ट बहुमत छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।नेकपा एमालेको ४० र माओवादी केन्द्रको १३ सांसद छन् । संघीय सरकारलाई समर्थन गरेको राप्रपाको ६ र जनता समाजवादी पार्टी (जसपा)को एक सांसद छन् ।तर सत्ता गठबन्धनमा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने भागवण्डा भइसकेको छैन ।
प्रदेश १ को मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्रको दाबी छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्न संसदीय दलको नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वार्ता समिति बनाएको छ । माओवादी केन्द्रले प्रदेश १ का इन्चार्ज राम कार्कीले नेतृत्वमा समिति बनाएको छ ।दुवै समितिबीच सम्वाद हुन सकेको छैन ।
सांसद संख्याका हिसाबले पनि माओवादीभन्दा एमाले तीन गुणा ठूलो छ भने सत्ता साझेदार दलहरुको प्रारम्भिक खाकामा प्रदेश १ को नेतृत्व एमालेलाई प्रस्ताव गरिएको छ । यद्यपि पार्टीको प्राथमिकता मुख्यमन्त्री नै भएको दल नेता आङ्बो बताउँछन् ।एमाले संसदीय दलका नेता कार्कीका अनुसार समग्र विषयमा सहमति खोजेर सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने तयारी छ ।