पोखरा । पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो ।प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्दा कार्यक्रम स्थलमा उल्लासको माहोल देखियो ।
लामो समयअघिको योजनाअनुरुप सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच व्यापारिक सम्झौता भएको थियो । त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र नागरिक उड्डयन प्राधिकरण(क्यान)बीच सहुलियत ऋण सम्झौता भएको थियो ।
नेपालका विमानस्थलहरुमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानका यात्रुले एरोब्रिज प्रयोग गर्न पाउने भएका छन् । यहाँ जहाज चढाउन र झार्न भ¥याङ प्रयोग गर्नुपर्ने छैन ।नयाँ सुविधा सम्पन्न विमानस्थल प्रयोग गर्न पाइने भएपछि पोखरेलीहरु उत्साहित छन् ।
प्रधानमन्त्री प्रचण्ड भन्छन् – अब निजगढको पालो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै अगाडि बढाउने बताएका छन् ।आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको विषय पनि उठाएका हुन् ।निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउनेसम्बन्धमा अन्योल छ । सरकारले गठन गरेको विज्ञको समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निर्षकर्ष सहितको प्रतिवेदन सरकारलाई पेश गरिसकेको छ । तर कसरी विमानस्थल निर्माण अघि बढाउने भन्नेबारे सरकार अनिर्णित छ ।