काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एकिकृत समाजवादीसँग तत्काल एकता नहुने संकेत गरेका छन् । एमाले निकट रिटर्नी फेडरेशनको पहिलो स्थापना दिवसलाई शनिवार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले गम्भीर ‘रियलाइजेशन’ बेगर अरू कुनै पनि कुरा सम्भव नरहेको तर्क गरे ।
“सतिसाल जस्ता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय हुँदैन, तपाईँहरू तनावमुक्त भएर पार्टी निर्माणमा लाग्नुस्”, उनले भने, “एमालेको विभाजन र एमालेलाई सरकारबाट विस्थापन गर्नका लागि गरिएको यावत क्रियाकलाप जस्टिफाइ हुन सक्दैन ।” उनले पार्टी विभाजनको औचित्य पुष्टि नहुने भएकाले गल्ती स्वीकार नगरेसम्म माधव नेपाल नेतृत्वको समूहलाई स्वीकार गर्न नसकिने टिप्पणी गरे ।
माधव नेपाललाई राष्ट्रपति बनाउन लागिएको र नेकपा एसलाई मिलाउन लागिएको हल्लातर्फ संकेत गर्दै उनले यी काम अहिले सम्भव नरहेको बताए । “हामीले बिर्सेका छैनौँ र बिर्सने कुरा पनि होइन”, उनले भने, “माओवादी र एमालेको विभाजनलाई बरु स्वाभाविक मान्न सकिएला । यसमा अदालतको र आफ्नै ३ वर्षको अनुभवले पनि त्यस्तै भनेको छ ।” उपमहासचिव ज्ञवालीले एमालेलाई बिगार्ने नियतले अब कसैलाई पनि स्थान नदिइने जीकिर गरे ।