काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सत्ता गठबन्धनका शिर्ष नेताहरुसँगको छलफललाई तिब्रता दिएका छन् ।नीति तथा कार्यक्रम र जनतालाई डेलिभरी दिने प्रक्रियाबारे उनले शीर्ष तहमा छलफल गरेका छन् ।
बिहान प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका गृहमन्त्री लामिछाने लगत्तै बालकोट पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबीच भागबण्डादेखि सरकारको काम कार्वाही एवं गृह प्रशासन सञ्चालनका सन्दर्भमा समेत छलफल भएको थियो ।
गठबन्धनको तेस्रो ठूलो घटक राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका साथै राज्यसत्ताका अन्य अंगमा पाउने प्रतिनिधित्वको बारेमा शीर्ष तहमा सहमति जुटाउन लामिछाने सक्रिय छन् । रास्वपाको प्रतिनिधित्व प्रदेशमा नभएकाले संघीय सरकारमा कम्तिमा चार मन्त्रालय र उपसभामुखमा उसको दावी छ । यसमा ओली पनि सकारात्मक रहेको बताइएको छ ।