काठ्माण्डौ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक बधाई दिएका छन् । उनले नेपालको सरकारलाई पूर्ण साथ रहने प्रतिवद्धता समेत जनाएका छन् । नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाईपत्र पठाएका हुन् ।
लिखित बधाई सन्देशमा प्रचण्डको कार्यकाल सफल हुने आशा व्यक्त गरिएको छ । नेपालको स्थायीत्व, विकास र समृद्धिमा चीन सँधै साथमा रहने उल्लेख गरेका छन् । लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।
नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जीनले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर बधाई नोट हस्तान्तरण गरेका थिए । दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने विश्वास व्यक्त गरेका छन् । चिनियाँ दूतावासले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन र चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बधाई दिएका थिए ।