काठमाडौं, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ। खनाल निवास डल्लुमा दुई नेताबीच अहिलेको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भेटमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी एकतामा जोड दिएका छन् । चुनाव अगाडि न नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको विषयमा छलफल चलाएका अध्यक्ष यादवले चुनाव पछाडि पनि यो प्रयासलाई ठोस रुपमा अगाडि बढाउन चाहेका छन् ।
समाजवादी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तयार रहे पनि सम्मानित नेता खनाल भने वाम धु्रवीकरण र एकतामा जोड दिने नेताहरूमध्ये अगाडि देखिन्छन् ।शुक्रबारको भेटमा पनि यादव र खनालबीच समाजवादी एकता र वाम धु्रवीकरण र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताबारे विषयमा छलफल भयो ।
नेताहरुका अनुसार ४ मंसिरको आम चुनाव अगाडि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादवबीच एकीकरणका लागि छलफल भएको थियो । तर, त्यसले मूर्त रुप लिन सकेन र त्यसबेला समाजवादी एकताको विषयलाई स्थगित गरिएको थियो ।चुनावी परिणामले समाजवादी एकताका लागि थप दवाव दिएको अध्यक्ष यादव निकट नेताहरु बताउँछन् ।तर, एकीकृत समाजवादीमा जनता समाजवादीसँग एकता गर्ने विषयमा एकमत छैन् । खासगरी नेता खनालले समाजवादी एकता भन्दा बढ्ता वाम एकतामा जोड दिँदै आएका छन् । जसपामा पनि नेता अशोक राई लगायतका नेताहरु समाजवादी एकता भन्दा वाम एकताको पक्षमा देखिएका छन् ।
तर, वाम एकतामा आफ्नो राजनीतिक हैसियत नदेखेका जसपा अध्यक्ष यादवले समाजवादी एकतामै जोड दिइरहेका छन् । अध्यक्ष यादवले भने वाम एकताको प्रयास विगतमा असफल भएको तर्क गरिरहेका छन् ।जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत एकीकृत समाजवादीबाटै एकताका लागि प्रस्ताव आएको बताउँछन् । उनका अनुसार उपेन्द्र यादव र माधव नेपालबीचको भेटमा पनि एकताको विषयमा अनौपचारिक छलफल भएको छ । तर ठोस रुपमा समाजवादी एकताको विषय अगाडि बढिसकेको भने छैन् । यस सन्दर्भमा एकीकृत समाजवादीले के चाहेको प्रष्ट भएपछि यसले एउटा आकार लिन सक्छ ।’एकताका सन्दर्भमा दुबै पार्टीमा दुई/दुई धार देखा परेको दुबै पार्टीका नेताहरु स्वीकार्छन् ।नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्ननाथ खतिवडा पनि समाजवादी एकताको विषयमा शीर्ष तहमा छलफल भइरहेको बताउँछन् । तर, यसले तत्कालै आकार लिनेमा भने उनलाई आशंका छ ।