काठ्माण्डौ । मंसिर ४ को चुनावपछि पहिलो दल बनेर पनि सत्ताबाहिर बस्नुपरेपछि नेपाली कांग्रेसभित्र खैलाबैला सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमाथिनै प्रश्नहरु उव्जिन थालेका छन् । कांग्रेसका युवा नेताहरु खुलेर देउवाको राजीनामा माग गर्न थालेका छन् । राजीनामा वा विशेष महाधिवेशन गर्नुपर्ने आवाज चर्किन थालेको छ । पुस २२ गते बस्ने पार्टीको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
सभापति विरुद्ध उभिएका नेताहरुले देउवाको चर्को विरोध गर्ने गृहकार्यमा लागेका छन् । सभापतिमात्रै होइन अन्य पदाधिकारी पनि जिम्मेवार छन् भनेर बचाउमा देउवा समूह लाग्ने योजनामा छन् । २२ गतेको केन्द्रीय समिति बैठकले कांग्रेसलाई के गर्ला भन्ने चासो कांग्रेसीहरुको छ । कांग्रेस नेता गुरुराज घिमिरे सभापति देउवाले अनुकूलतालाई प्रतिकुलमा बदलिदिएको आरोप लगाउँछन् । सत्तामा आँफै बसिरहने सोचकै कारण कांग्रेस अहिलेको हालतमा पुगेको तर्क गर्छन् । एकचोटिलाई दुई वर्ष प्रधानमन्त्री हुने प्रचण्डको लक्ष्यलाई मूल्यांकन गर्न नसक्दा अहिलेको स्थिति आइपरेको उनी बताउँछन् ।
अहिले कांग्रेसले राष्ट्रपतिदेखि १४ सयवटा पद गुमाउन पुगको बताए । “ कार्यकर्तामा निराशा । यो १०÷१५ वर्ष क्षतिपूर्ति हुँदैन”, उनले भने, “अर्को निर्वाचनलाई पनि चूनौती आएको छ, बलियो कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी छन् । कांग्रेसले सोच्ने बेला अहिल्यै हो ।” उनले पार्टी सभापति देउवाले मार्गप्रशस्त गर्नुपर्ने बताउँछन् । “गठबन्धनले काम गर्न दिएन भनेर राजीनामा दिएर जनमत आर्कषित गर्न लाग्नुपर्छ”, उनले भने, “राजीनामा सम्भव नभए विशेष महधिवेशन बोलाएर नैतिकता देखाउनुप¥यो ।”
कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर माओवादी अध्यक्ष प्रचण्डको अस्थिर चरित्रको पुनरावृत्ति भएको कुरालाई बेलैमा आंकलन गर्न नसक्नु पार्टीको कमजोरी भएको बताउँछन् । पदाधिकारीहरूले एकीकृत रूपमा काम गरेको भए अहिलेको स्थिति नआउने टिप्पणी गर्छन् । “सभापति, पदाधिकारी र कार्यसम्पादन समितिले गल्ती गरेको देखिन्छ”, उनी भन्छन्, “२२ गतेको केन्द्रीय समितिमा उहाँहरूले जवाफ दिनुपर्छ ।”
उनले लामो समयदेखि केन्द्रीय समितिलाई छलिएको बताए । उनका अनुसार अवैधानिक निर्णयलाई छोप्नका निम्ति पदाधिकारीहरू कार्यसम्पादन समितिका बैठक र निर्णय प्रक्रियामा चुपचाप सामेल भएको जीकिर गर्छन् । उनले आगामी दिनमा कांग्रेसलाई बहुमत दिलाउन आजैदेखि काम गर्नुपर्ने आवश्यकता देखिएको बताए । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय समितिको बैठक (पुस) २२ गते बस्ने बताउँछन् ।
“कांग्रेस ‘लार्जेस्ट’ पार्टी भएर पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्थाको जिम्मेवारी सभापति, पदाधिकारी, कार्यसमितिका सबैले लिनुपर्छ”, उनी भन्छन्, “विशेष महाधिवेशनको कुरै उठेको छैन, केन्द्रीय बैठकले जे निर्णय गर्छ, त्यही अनुसार जाने कुरा हो, अहिले हल्ला भएजस्तो होइन ।” विगतका महाधिवेशनभन्दा अहिले आएको नेतृत्व अगाडी भएकै कारण पार्टीको आकार बढेको स्वीकार्नुपर्ने उनको तर्क छ ।