काठ्माण्डौ । सत्ताको नेतृत्व सम्हालेको माओवादी केन्द्रले सत्तामा सहकार्य गरेको दललाई राष्ट्रपति दिने सहमति गरेको थियो । एमलेबाट राष्ट्रपति को बन्छ भन्नेबारे एमाले अहिलेसम्म बोलेको छैन । चुनावी गठबन्धन तोडेर नयाँ ७ दलीय गठबन्धन बनाएको माओवादी केन्द्रले उपराष्ट्रपति पद पाउने पक्कापक्की छ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक÷फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी हुनुपर्छ ।
एउटै दलबाट राष्ट्रपति र उपराष्ट्रपति वा दुवै एकै लिंगका नहुने प्रावधान छ । यसरी हेर्दा माओवादीले उपराष्ट्रपति को बनाउँछ भन्नेबारे चर्चा चुलिएको छ । फागुन अन्तिम सातामा उपराष्ट्रपतिको कार्याकाल पुरा हुदैछ । अहिले माओवादी केन्द्रबाटै निर्वाचित नन्दबहादुर पुन उपराष्ट्रपति छन् । उपराष्ट्रपतिको बन्न कम्तीमा ४५ वर्ष उमेर पूरा हुुनुपर्छ ।
उपराष्ट्रपतिको रुपमा पूर्वसभामुख ओनसरी घर्ती, पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीको नाम चर्चामा छ । पूर्वमन्त्री जयपुरी घर्तीको नाम पनि चर्चामा छ । यस्तै लिलामणि पोखरेल, दिनानाथ शर्मा र माओवादीकै जेष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष नन्दकुमार प्रसाईंको नाम चर्चामा छ । एमालेले राष्ट्रपति पुरुष अगाडी सारे माओवादीबाट महिला नेतृ उपराष्ट्रपति बन्नेछन् । एमालेले महिलालाई राष्ट्रपति बनाए माओवादीबाट पुरुष नेता उपराष्ट्रपति बन्न पाउनेछन् । पोखरेल, शर्मा र प्रसाईं माओवादीका पुराना नेता मानिन्छन् ।