काठ्माण्डौ । कम्बोडियाको एक क्यासिनोमा भएको भिषण आगलागीमा परेर १ नेपाली सहित १९ जनाको ज्यान गएको छ । झापा विर्तामोड नगरपालिका–१ का ४० वर्षिय निराकर पाण्डेको मृत्यु भएको हो । पाण्डेका सहपाठी दिनेश सिलवालले बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको बताए ।
उनका अनुसार थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव नेपाल पठाउने तयारी भैरहेको बताए । पाण्डे एक महिना अघि भिजिट भिसामा कम्बोडिया गएका थिए । उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । त्यहाँको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा बस्दै आएका थिए ।
स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी सुरु भएको बीबीसीले जनाएको छ । निराकरका बुबा विर्तामोड १ का वडाध्यक्ष समेत हुन् । निराकरले आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फालेका थिए । ज्यान गुमाउनुअघि परिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्पर्क गरेको पाइएको छ ।