काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर प्रहरी अधिकारीहरुसँग भेटघाट गरेका छन् । सो क्रममा उनले सरुवा–बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । उपप्रधानमन्त्री लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए ।‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’ गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए ।आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको बताउँदै उनले भने, ‘गलत क्रियाकलाप भएको पाइए कसैको कुरा सुन्ने छैन ।’
उनले आफूले पनि कुनै कुरामा दबाब नदिने बताउँदै सबै कुरा कानूनले बाँधेर गर्ने बताए । उनले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पनि बताए ।प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरीमा सरुवा बढुवाका लागि मापदण्ड समेत बनाइएको बताउँदै त्यसलाई अक्षरांश पालना गर्ने बताए ।