भरतपुर । नेपाली कांग्रेस यतिबेला संकटमा परेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट पहिलो दल बनेपनि कांग्रेस सत्ता बाहिर पुगेको छ । तत्कालिन नेकपा विभाजनको संघारमा पुग्दा लाभ लिन पाएको कांग्रेस यतिबेला मुखैमा आएको सत्ताको स्वाद लिनै नपाउने अवस्थामा पुगेको छ । कांग्रेस–माओवादी–एकिकृत समाजवादी लगायतको गठबन्धनको भरमा पहिलो दल बन्न पुगेको थियो ।
तर, कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद फेरी लिने दाउ नत्यागेपछि अन्ततः कांग्रेस प्रतिपक्षमा पुग्यो । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत कांग्रेस पहिलो दल बन्न पुग्यो । तर, एमाले–माओवादीको सहकार्यले सत्ताको सपना निभ्यो । आलोपालो प्रधानमन्त्री बन्ने समझदारी गरेर होमिए पनि पहिलो कार्याकाल कांग्रेसलेनै लिनुपर्ने हठ नछोडेपछि कांग्रेस यति बेला सत्ताविहिन बन्न पुगेको छ । प्राप्त अवसरलाई सदुपयोग गर्न कांग्रेस चुक्यो । कांग्रेसभित्रै पार्टी सभापति देउवा विरुद्ध नेताहरु खनिन थालेका छन् । गठबन्धन गलत भन्ने कांग्रेस नेताहरु पनि चुनाव जित्न विरोधमा उत्रिन सकेनन् । बरु, सत्ताबाहिर बस्नु परेपछि यतिबेला देउवाकै राजिनामाको आवाज उठ्न थालेको छ । २०७४ को चुनावमा कांग्रेस कमजोर बनाएको आरोप लागेको थियो । कांग्रेस नेता गुरुराज घिमिरे यतिबेला देउवा विरुद्ध निकै असन्तुष्ट छन् ।
“अब राजिनामा नदिए विशेष महाधिवेशन बोलाउने छौँ”, उनी भन्छन्, “सत्तालिप्सा र भजनमण्डली जिम्मेवार बन्नु पर्दैन र ?” केन्द्रीय महाधिवेशन बोलाउन ४० प्रतिशत प्रतिनिधिले लिखित माग गरेमा ३ महिना भित्र विशेष महाधिवेशन बोलाउनुपर्ने अवस्था आइपर्ने छ । कांग्रेसभित्रको समिकरण हेर्दा देउवा पक्ष बलियो छ । केन्द्रीय समितिमा देउवा पक्षधर ८२ प्रतिशत सदस्य छन् । निर्वाचन अगाडीको गठबन्धन गलत थियो भनेर कांग्रेसकै महामन्त्री बोल्दै आएका छन् ।
फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भन्दै आएका शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरु यतिबेला निकै निराश देखिएका छन् । रोचक कुरा के छ भने कांग्रेसले यही पुस १५ गतेसम्म गठबन्धनका उम्मेदवारलाई असहयोग गरेका नेताहरुको सूचि समेत मागेको थियो कारवाहीका लागि । संस्थापन पक्षमा समेत असन्तुष्टि चुलिएको छ । जसरी पनि सत्ताको पजेरो चलाउने दाउमा रहेका कांग्रेसकै नेताहरु यति बेला एक अर्कालाई आरोप लगाउँदै निराश भएर बसेका छन् ।