भरतपुर । चितवनका उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुनासो पोखेका छन् । प्रचण्ड निवासमै पुगेको उद्योग वाणिज्य संघ चितवनको टोलीले अर्थतन्त्रका समस्यामात्रै राखेनन्, सडक विस्तारका क्रममा घरहरु भत्काइएको समस्या पनि राखे । संघका अध्यक्ष चुननारायण श्रेष्ठले भरतपुरको नारायणगढ–गोन्द्राङ सडक विस्तारका क्रममा दायाँबायाँका घर, संरचनाहरु अव्यवस्थित रुपमा डोजर लगाएर भत्काइएको दुखेसो पोखे ।
भरतपुर महानगरले घर, संरचना भत्काउने ३५ दिने सूचना समेत निकालिसकेको थियो । पुस १८ गतेसम्म म्याद दिइएको थियो । “संरचना हटाउने विषयमा सरोकारवाला, नीजि क्षेत्र लगायतको समन्वयमा प्रक्रिया अगाडी बढाउन आग्रह गरेका छौँ”, श्रेष्ठले भने, “अहिले जथाभावी संरचना भत्काउँद्या व्यवसायीले ठुलो क्षती व्यहोर्नुपरेको छ ।” भरतपुरमा नारायणगढ–गोन्द्राङ सडक विस्तारका लागि पुस ८ गतेदेखि सडक क्षेत्राधिकार मिचेर बनाइएको घर संरचनाहरु डोजर लगाएर भत्काउन थालिएको छ ।
भेटमा चितवनका उद्योगी–व्यवसायीले अर्थतन्त्र जोगाउनको लागि सरकारद्वारा ठोस कदम चाल्न आग्रह गरेको छ । बैंकद्वारा गरिएको ब्याजदरको वृद्धि, राष्ट्रिय तथा अन्तराष्ट्रिय असहजता, मुल्यवृद्धि लगायतका कारणले आर्थिक क्षेत्र तहसनहस भएको दुखेसो राखेका थिए । नेपाल राष्ट्र बैंकद्वारा ल्याएको चालु पूंजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तिमा २ बर्ष स्थगन गर्न अनुरोध गरेको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए ।