भरतपुर । चितवनको माडी नगरपालिकामा निर्माणाधिन सडक तथा पुलहरुको काम ढिलो गरेको भन्दै ठेकेदार हराएको सूचना टाँस्ने अभियान चलाइएको छ । समृद्धिका लागि युवा अभियान माडीमा आवद्ध युवाहरुले ठेकेदार सहितको तस्वीर सडक छेउछाउमा टाँगेका छन् । भरतपुर–माडी–ठोरी अन्र्तगतको हु्लाकी राजमार्गमा पर्ने जीवनपुरदेखि बगईसम्मको सडक र पतरे खोलाको पुल निर्माण ढिला भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
व्यानरमा ’बाटो बनाउँछु भनि हामीलाई धुलो खुवाएर रोगी बनाएका ठेकेदार हराएकाले सम्बन्धित निकायलाई जानकारी गराइन्छ’ लेखिएको छ । ठेकेदारहरु सम्पर्क विहिन भएकाले खोजीका लागि ठेकेदार हराएको भन्दै व्यानर टाँगिएको अभियान्ता रामचन्द्र लम्सालले बताए । म्याद थपहुदा समेत काम पुरा नभएपछि स्थानीय युवाहरु मिलेर दबाब दिइएको बताए । पीच भत्काइएपछि सडक धुलाम्मे छ । निर्माणाधिन जीवनपुर–बगई सडक ८.८ किलोमिटरको छ । बज्रगुरु र ढुकुचु जेभीले आगामी असार मसान्तसम्म निर्माण सक्ने गरी जिम्मा लिएका थिए । तर, अहिले काम रोकिएको छ ।
पतरे खोलाको निर्माणको जिम्मा लोहनी एण्ड ब्रदर्शले लिएको थियो । पतरे खोलाको काम पनि अहिले ठप्प छ । माडीको मुख्य सडकमा १२ पुल छन् । चितइ, रिमाल र टुनामुना खोलाकोे पुल तयार भैसकेको छ । रिउखोला, लम्बाइखोला, घाँघरखोला, परुई खोला, भालुखोला, बाँदरमुडे, रतनीखोला, मुगइखोला पुल बन्दैछन् । माडीके हुलाकी सडकका निर्माणका काम निगरानी गर्ने कार्यालय हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जमा छ ।
अभियान्ता विपिन पाठकले सरकारका सबै संयन्त्रलाई जानकारी गराउँदा समेत निर्माणमा ढिलाई भएको दुखेसो पोखे । निर्माण व्यवसायी भागिरहदा काम ढिलो भएकाले समस्या भएको बताए । ढुंगा, गिटीलगायतका निर्माण सामग्रीको रोयल्टी र उत्खनन् प्रकृयाका विषयमा कुरा नमिल्दा योजना प्रभावित हुन पुगेको दाबी छ । हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका प्रमुख सिनियर डिभिजन ईन्जिनियर दारोगा प्रसादले निर्माण सामग्री ल्याउने लैजाने विषयमा कुरा नमिल्दा काममा ढिलाई भएको जीकिर गर्छन् ।
चितवन राष्ट्रिय निकुञ्जले निर्माण सामाग्री ल्याउन नदिएको गुनासो निर्माण व्यवसायीले गरेको बताए । निकुञ्ज, निर्माण व्यवसायी, नगरपालिका लगायतका सरोकावालाबीच छलफल गर्न यही पुस १५ गते बैठक राखिएको छ । उनले असारमसान्त्भित्रै काम सक्न निर्देशन दिइएको बताए । पतरे खोलाको काम सुस्त भएकाले लोहरी एण्ड ब्रदर्शलाई कारवाही गर्ने तयारी समेत भएको छ । अभियान्त कृष्ण पौडेलले निकुञ्जको बहाना बनाएर निर्माण व्यवसायीले पटक पटक म्याद थप्न खोजेको आरोप लगाए । माडीको हुलाकी सडकमध्ये १५.५ किलोमिटर सडक कालोपत्रे बनिसकेको छ ।