अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रवासीहरु चढेको डुङ्गा ट्युनिसियाली सामुद्रिक तटमा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ।
लिबियाको जुवारा बन्दरगाहबाट आप्रबासी लिएर छुटेको डुङ्गा भुमध्य सागर पार गर्ने क्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो। एक सय २७ जना आप्रवासी चढेको उक्त डुङ्गा दुर्घटनामा परेका कम्तीमा ८४ जनाको उद्धार गरिएको छ।
मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन्। डुङ्गामा लिबिया, सुडान, बङ्गलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु यात्रारत रहेको बताइएको छ।
डुङ्गा दुर्घटना हुनुको प्रमुख कारण इन्जिनमा आएको खराबी भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ। दुर्घटनाग्रस्त डुङ्गामा क्षमताभन्दा बढी यात्रु सवार थिए।रासस
प्रकाशित: २१ असार २०७८ ०९:४० सोमबार