चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औँ वर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भव्य समारोहका साथ सीपीसीले स्थापना दिवस मनाएको छ ।
अवसरमा सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताएका छन् । बिहीबार बिहान राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै पनि विदेशी तागतले आफूहरूलाई धम्क्याउने, उत्पीडित गर्ने र आफ्नो बशमा पार्न नसक्ने बताएका हुन् ।
सीपीसीका महासचिवसमेत रहेका राष्ट्रपति सीले आफूहरूले शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने बताउँदै चीनलाई धम्क्याउन खोज्ने शक्तिसँग चीन नतर्सिने चेतावनी दिए । उनले भने, “जो कोहीले चीनलाई दबाउने दृष्टि राख्छ वा कोशिस गर्छ भने उसले अर्ब अर्ब ४० करोडभन्दा बढी चिनियाँ जनताले तयार पार्ने विशाल फलामे पर्खालसँग टक्कराउनुपर्नेछ । उनीहरू धुलोपिठो बन्नेछन् ।”
चीनको राष्ट्रपतिसमेत रहेका सीले आफूहरूले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधिनमा पार्ने काम कहिल्यै नगरेको र नगर्ने स्पष्ट बताए । उनले भने, “चीन सधैं विश्वमा शान्ति स्थापना गर्न, विश्वव्यापी विकासमा योगदान गर्न एवं विश्व व्यस्थालाई जोगाउन र साझा भविष्यका साथ मानव समुदायको सर्वोपरी हितका लागि निरन्तर काम गर्न चाहन्छ ।” उक्त अवसरमा चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका महासचिव सीले जनमुक्ति सेनालाई अझ उन्नत र शक्तिशाली बनाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले एक चीन नीतिमा प्रतिवद्ध रहँदै हङकङ र मकाओको विकास र प्रगति अघि बढाइने पनि बताए । हङकङ र मकाओ चीनको आन्तरिक मामिला भएको स्पष्ट पार्दै उहाँले कुनै पनि विदेशी शक्तिलाई हस्तक्षेप गर्न नदिने उनले बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी ले मध्यमस्तरको समृद्ध राष्ट्र बनाउने पहिलो शताब्दी लक्ष्य पुरा भएको घोषणा गर्दै सीपीसीको १०० वर्षको संघर्षमय प्रयास र पछिल्लो चार दशक यता सरकारद्वारा गरिएको अथक प्रयासका कारण चिनियाँ जनताले दुई हजार ५०० वर्षदेखि साँचेको समृद्ध चीनको सपना साकार पार्न सफल भएको बताए ।
चिनियाँ कम्यनिष्ट पार्टीको कुल सदस्य सङ्ख्या नौ करोड ५० लाखभन्दा बढी पुगेको छ । सयौँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको विवरण अनुसार चिनियाँ कम्युनिष्ट पार्टीमा अहिलेसम्म नौ करोड ५१ लाख ४८ हजार चिनियाँ नागरिक आवद्ध भएका छन् ।
यो तथ्याङ्क यही जुन ५ तारिखसम्मको भएको चिनियाँ कम्युनिष्ट पार्टीको संगठन विभागले बुधबार जानकारी दिएको छ । सन् २०१९को अन्त्यसम्मको सदस्य सङ्ख्याभन्दा अहिले ३.५ प्रतिशतले सदस्य सङ्ख्या बृद्धि भएको संगठन विभागको भनाइ छ । विश्वकै प्रभावशाली पार्टीमध्ये मानिने चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१, जुलाई १ मा भएको थियो ।
सुरुमा ५० जना जति सदस्यबाट स्थापना भएको यो चिनियाँ कम्युनिष्ट पार्टी अहिले विश्वकै सवैभन्दा ठूलो सत्तारुढ कम्युनिष्ट पार्टीको रूपमा रहेको छ ।
प्रकाशित: १७ असार २०७८ २१:३१ बिहीबार