झापाकी लक्ष्मी पोखरेलको १२ वर्षको उमेरमा विवाह भयो तर विवाह भएको एक वर्षमै उनको श्रीमान्को मृत्यु भयो । विधुवा महिलाले दोस्रो विवाह गर्न नहुने तत्कालीन समाजको परम्परावादी सोचका कारण लक्ष्मी आमाबुबासँगै माइतीमा बस्दै आइन । उनलाई माइतीमा बस्दा कुनै समस्या भएन । दाजुभाइले राम्रै व्यवहार गर्थे तर अवसरको खोजीमा दाजुभाइ सबै विदेश गए । दिदीबहिनीहरुले पनि विवाह गर्दै आ–आफ्नो घरजम गर्न थाले । बुबाआमा रहुन्जेल लक्ष्मीलाई कुनै समस्या भएन । जब आमाबुबा दुवैको मृत्यु भयो, तब लक्ष्मीलाई एक्लो महसुस हुने र बिरामी हुँदा होस् या दैनिक दिनचर्यामा तातोपानी तताएर दिने पनि कोही भएन ।
लक्ष्मीलाई कहिलेकाहीँ नातेदारतर्फका भाइहरुले गाह्रोसाह्रो पर्दा सहयोग गर्थे । सधैँ उनीहरुको सहयोग लिन पनि व्यावहारिक नभएपछि ७५ वर्षीय लक्ष्मीले रोजिन् वृद्धाश्रम । उनी भक्तपुर आदर्शस्थित सिद्धि शालिग्राम ज्येष्ठ नागरिक वृद्धाआश्रम बस्न थालेको तीन वर्ष भइसकेको छ ।
“नातेदारका भाइहरुलाई कति दुःख दिउँजस्तो लाग्यो । त्यही भएर मलाई हेर्ने ठाउँमा पुर्याइदिनु भनेँ”, उनले भनिन्, “उनीहरुकै सहयोगमा यो ठाउँमा आइपुगेँ ।” वृद्धाश्रममा मासिक रु १८ हजार शुल्क बुझाउनुपरेको उहाँले बताउनुभयो । “अहिले मलाई खुट्टा दुख्ने, रक्तचाप र मधुमेहको रोग छ । कसले हेर्छ । कोही छैन मेरो । मेरो सहारा भन्नु नै भगवान् र यही आश्रम हो”, उनले भनिन् ।
त्यस्तै सोही आश्रममा बस्दै आएकी अर्की आमा छिन् ६४ वर्षीया सपना सिग्देल । काठमाडौँकी सपनाको हेटौँडाका युवकसँग मागी विवाह भएको थियो । वैवाहिक जीवन ठिकठाक चल्दै थियो । विवाहको अर्को वर्ष सपनाले छोरीलाई जन्म दिइन् । भनिन्छ, सन्तानको आगमनले वैवाहिक जीवनलाई थप खुसी र सुखी बनाउँछ तर उनको जीवनमा त्यस्तो हुन सकेन । विवाहको अनुपम उपहारका रूपमा पहिलो सन्तान छोरीको जन्मसँगै उनलाई श्रीमान्ले साथ छाडे ।
अग्नि साक्षी राखी जीवनको हरेक पलमा साथ दिने वाचा कसम खाई सातफेरा लगाएका श्रीमान्ले छोरीको जन्मसँगै छाडेपछि सपना माइतीको शरणमा पुगिन् । छोरीसहित माइतीमा बस्दै आएकी सपनालाई बुबा छउन्जेल खासै समस्या परेन ।
सपनाका बुबा राष्ट्र बैंकमा जागिरे थिए । बुबाको पेन्सनले सपना र उनकी छोरीलाई आवश्यक पर्ने सम्पूर्ण खर्च सपनाकी आमाले बेहोर्दै आइन् तर लामो समय माइती बस्न बाध्य सपनालाई दाजुभाइको व्यवहार निको लाग्न छाड्यो । आमालाई पनि घरमा छोराबुहारीको कचकचले दिक्क बनाएपछि उनै आमाले सपनालाई सिद्धि शालिग्राम ज्येष्ठ नागरिक वृद्धाआश्रम पुर्याइन् ।
सपना वृद्धाआश्रममा आइपुगेको चार वर्ष भइसकेको आश्रमका प्रशासन प्रमुख अनिल राजभण्डारीले बताए । वृद्धाआश्रम आए पनि कहीलेकाहीँ फोनमा आमासँग कुरा गरेर मन बहलाउने गरेकी सपना डेढ वर्षअघि आमाको मृत्यु भएपछि एक्लो महसुस गर्छिन् ।
बेलबेलामा सपनालाई भेट्न आउने छोरी पनि गतवर्षको लकडाउनदेखि आउन छाडेपछिसपनामा एकान्तमा बरबराउने समस्या देखिएको राजभण्डारीले बताए ।
श्रीमान्को हेटौँडामा जग्गा जमीन भए पनि कानूनबमोजिम अधिकार नदिएको उनले बताइन् । वृद्धाश्रममा राखेर स्याहारसुसार गरेबापत लिने मासिक १२ हजार भने श्रीमान्ले पठाउने गरेको उनले बताइन् ।
आश्रममा आउने अधिकांश ज्येष्ठ नागरिकहरु आफ्नै खुसीले आउने गरेको आश्रमका प्रशासन प्रमुख राजभण्डारीले बताए । “आफ्ना छोराछोरी विदेशमा भएका, सन्तान नभएका र घरमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकहरु स्वइच्छाले यहाँ आउनुहुन्छ”, राजभण्डारीले भने ।
आश्रममा अहिले ३० आमा र आठ बुबा आश्रित छन् । तीमध्ये अशक्त १२ जना रहेको राजभण्डारीले बताए । “अशक्त १२ आमाबाका लागि दैनिक तीन जना कुरुवा २४ घण्टा खटिरहेका हुन्छन् । अन्य बाआमाको हेरचाहका लागि २४ सै घण्टा छ जना नर्स र चार जना डाक्टर खटाएका छौँ”, उनले भने, “आश्रममा २६ कर्मचारी र स्वास्थ्यकर्मी कार्यरत छन् ।”
आश्रमले आश्रममा बसेका ज्येष्ठ नागरिकहरुलाई दिनको पाँच पटक खाना चिया नास्ता दिने गरेको राजभण्डारीले बताए । उनका अनुसार आश्रमले बिहान कालो चिया र बिस्कुट, आठ बजे दूध चिया, १० बजे खाना, २ बजे खाजा र आवश्यकताअनुसार कसैलाई रोटी त कसैलाई भात खुवाउने गरेको छ ।
आश्रित ज्येष्ठ नागरिकहरुलाई नियमित खानाका साथै आवश्यकताअनुसार पोषण पनि दिने गरेको राजभण्डारीले बताए । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बीमा गरिएको र उपचारका क्रममा आवश्यक परेका औषधिहरु विदेशबाट समेत मगाएर दिने गरेको उनले बताए ।
आश्रममा आश्रितहरुको जन्मदिन मनाउने र हरेक नेपाली चाडपर्व परम्परागत शैलीमा मनाउने व्यवस्था गरिएको छ । आश्रितहरुले शुल्क तिर्ने गरेको बताए पनि राजभण्डारीले भने निःशुल्क रूपमा आमाबुबाहरुलाई राखेको बताए । उनले भने, “इच्छाअनुसार दिनेको लिन्छौँ । मासिक यति नै शुल्क भनेर तोकिएको छैन ।” ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा २० मा नेपाल सरकारले हेरचाह केन्द्र वा दिवा सेवा केन्द्र वा दुवै केन्द्रको स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ ।
भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षणका लागि आदर निकेतन स्थापना गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षणका लागि आदर निकेतनको व्यवस्था गर्ने उल्लेख गरेको छ । वडा नं ६ स्थित अँचा पोखरी परिसरमा आदर निकेतन सञ्चालनका लागि नगरपालिकाले रु ५० लाख बजेट विनियोन गरेको छ ।
प्रकाशित: १६ असार २०७८ १०:०५ बुधबार