पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाले नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित निवासमा दुई नेताबीच भेटघाट भएको नेता नेपालको सचिवालयले जनाएको छ ।
दुई नेताबीच पार्टी एकताको विषयमा कुराकानी भएको बताइएको छ । ‘उहाँहरूबीचको छलफल पार्टी एकताको विषयमा केन्द्रित रह्यो,’ नेता नेपालको सचिवालयले भन्यो ।
मंगलबार बसेको स्थायी कमिटी बैठकअघि उनीहरूबीच भेटवार्ता भएको थियो । एमाले नेता गुरुङले सोमबार बसेको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउनका निम्ति नेता नेपाललाई समेत अध्यक्ष बनाएर अघि बढ्न तयार हुनुपर्ने प्रस्ताव राखेका थिए । त्यसमा ओली मौन रहे ।
सोमबार मदनभण्डारीको जन्मजयन्तीका अवसरमा उनले नेता नेपालप्रति तुच्छ टिप्पणी गरेका थिए । उनले नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मामुली कार्यकर्ता भएको र कांग्रेसमा प्रवेश गर्दा उत्तम हुने भनेका थिए ।
नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको हल्ला फिँजाइरहेको भन्दै ओलीले उनलाई प्रधानमन्त्री बनाउन आफूलाई बौलाह कुकुरले नटोकेको टिप्पणीसमेत गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८, ००:३१:५९