नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ।
मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई केन्द्रीय कमिटीको संरचनामा फर्काउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।
‘भोलि महाधिवेशन आयोजक कमिटीको बैठक बसेपछि केन्द्रीय कमिटीको संरचनामा फर्किने निर्णय गर्छौ। त्यो बैठक हामी असार १८ गते राख्छौ,’ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउन निर्णय भएको हो?, भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले भने, ‘केन्द्रीय कमिटीको संरचनामै फर्किने निर्णय हुन्छ। पुरानो संरचनामै फर्किने निर्णय गर्छ।’
पुरानै संरचनामा फर्काउने भनिए पनि यसबारेमा कुनै प्रष्ट पारिएको छैन।
एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव पक्षले नवौं महाधिवशेनको संगठनात्मक ढाँचामा पार्टीलाई फर्काउनुपर्ने माग राखेको छ। तर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले भने यसबारेमा प्रष्ट धारणा सार्वजनिक गरेको छैन।
पुरानो संरचनालाई व्यूँताउँदा माओवादीसँगको एकताको बेलामा थपिएका केन्द्रीय सदस्यको हैसियत के हुने भन्नेमा समेत दुई पक्षबीच सहमति हुन सकेको छैन।
२०७७ फागुन २३ गते सर्वोच अदालतले एमाले र माओवादीलाई पूर्व अवस्थामा फर्काइदिएपछि ओलीले खनाल-नेपाल समूहलाई पार्टी कमिटीका बैठकमा सहभागि गराएका छैनन्।
ओलीले नवौं महाधिवेशनको कमिटीनै भंग गरेर दशौं महाधिवेशन आयोजक कमिटी बनाएका छन्। महाधिवेशन आयोजक कमिटीमा माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखराज भट्टसहित २३ जनालाई मनोनित गरेका थिए।
ओलीले महाधिवेशन आयोजक कमिटीकै बैठकबाट स्थायी कमिटीको गठन समेत गरेका थिए। त्यो स्थायी कमिटीमा खनाल-नेपाल समूहका नेता छैनन्।
सर्वोच्च अदालतलेसमेत दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेको थियो। सर्वोच्चको फैसलापछि ओलीलाई पुरानोको कमिटी व्यूँताउन दबाब परेको छ।
बुधबारको महाधिवेशन आयोजक कमिटी बैठकमा सहभागि हुन खनाल-नेपाल पक्षका नेतालाई समेत खबर गरिएको छ। यद्यपी ओली पक्षले पार्टीबाट निश्काषन गरेका वरिष्ठ नेता खनाल र नेपाल तथा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र केन्द्रीय सदस्य रामकुमारी झाक्रीलगायतलाई भने बैठकमा बोलाइएको छैन। यस्तै बैठकका लागि खबर पाएका खनाल-नेपाल पक्षका नेताहरू बैठकमा सहभागि नहुने भएका छन्। एमाले केन्द्रीय सदस्य राजेन्द्र राईले आफूहरु बैठकमा सहभागि नहुने बताए।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८, २१:०२:००