महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताएकी छिन्। १६ औं ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवसको अवसरमा मन्त्री चौधरीले शुभकामना व्यक्त गर्दै यस्तो आग्रह गरेकी हुन्।
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाँउमा सदुपयोग गर्दै उहाँहरुको जीवनलाई सहज बनाउने राज्यको प्रमुख दायित्व रहेको मन्त्री चौधरीले जिकिर गरिन्।
‘सरकारको सीमित स्रोत र साधनलाई अधिकतम् उपयोग गरी राज्यको हरेक तहमा ज्येष्ठ नागरिकलाई सहभागी गरेर ज्येष्ठ नागरिकलाई सुखी सम्मानीत एवं सुरक्षित रहने बातावरणतर्फ विभिन्न नीति नियमको तर्जुमा गरी प्रभावकारीरूपमा कार्यान्वयन गराउनेतर्फ मन्त्रालय क्रियाशील रहेको मन्त्री चौधरीले जानकारी दिइन्।
समयसापेक्ष ढङ्गले उपलब्ध सेवा सुविधाहरूलाई वृद्धि गरी सहजरुपमा प्रदान गर्नेतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सदैव तत्पर रहेको उनको कथन थियो। ज्येष्ठ नागरिकहरुलाई राजनीतिक, सामाजिक, आर्थिक लगायतका सुविधामा विशेष ध्यान दिनु पर्नेमा उनले जोड दिइन्।
त्यस्तै मन्त्री चौधरीले ज्येष्ठ नागरिकहरुले कोरोनाविरुद्धको पहिलो खोप लगाए पनि दोश्रो खोप समयमा लगाउन नसकिएको प्रति चिन्ता जाहेर गर्दै दोश्रो खोप लगाउन बाँकी विशेष पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।
उनले हाल कोभिड–१९ को दोस्रो महामारीबाट विश्व नै आक्रान्त भएको अवस्थामा, यस रोगबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गरी स्वस्थ रहन सबै ज्येष्ठ नागरिकसमक्ष अनुरोध गरिन्।
संयुक्त राष्ट्र संघले पनि सन् २०१२ देखि निरन्तररूपमा यो दिवसलाई औपचारिकरूपमा मनाउँदै आएको छ । सोही बमोजिम संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले सन् २०१२ देखि आजको दिनलाई ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवसको मनाउने गरेका छन्।
प्रकाशित: १ असार २०७८ १९:५० मंगलबार