कोपा अमेरिकाको पहिलो खेलमा ब्राजिलले सानदार जित हात पारेको छ । आइतबार राति सुरु भएको खेलमा ब्राजिलले भेनेजुएलाविरुद्ध ३-० को जित निकालेको हो ।
खेलको २३ औँ मिनेटमा ब्राजिलले कर्नरलाई गोलमा परिणत गर्दै अग्रता बनाएको थियो । ब्राजिलका नेइमारले हानेको कर्नरलाई मार्किनसले गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफको ६३ औँ मिनेटमा ब्राजिलले पेनाल्टी पायो । भेनेजुएलाका खेलाडीले डीबक्सभित्र ब्राजिलियन खेलाडी डानिलोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त अवसरलाई सदुपयोग गर्दै नेइमारले खेलमा २-० को अग्रता बनाएका थिए ।
८८ औँ मिनेटपछि ब्राजिलले खेलमा ३-० को अग्रता बनायो । ८८ औँ मिनेटमा गाब्रिल बार्बोसाले ब्राजिलका लागि गोल गरेका थिए । गाब्रिललाई नेइमारले असिस्ट गरेका थिए ।
खेलमा भेनेजुएलाविरुद्ध ब्राजिलले दबदबा बनाएको थियो । ब्राजिलले धेरैजसो समय बलमा आफ्नो नियन्त्रण कायम गरेको थियो ।
समूह ‘ए’ अन्तर्गतको यस खेलबाट ३ अंक जोड्दै ब्राजिल शीर्ष स्थानमा छ ।
कोपा अमेरिकाको समूह ‘ए’ अन्तर्गत कोलम्बिया र इक्वेडरबीच खेल जारी छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८, ०६:३३:००