सरकारले मानवस्वास्थ्य र आर्थिक संकटबाट र्सिजित प्रतिकूल अवस्थामा करदातालाई राहत र सहुलियतसहित शीघ्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर राजश्व नीति र करको दायरा निर्धारण गरिएको जनाएको छ ।
सरकारले कोभिड १९ बाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा एक प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर दश वर्ष पुर्याएको छ । सरकारले २०७७/०७८ को आयमा वार्षिक २० लाखसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक ५० लाख सम्म कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक १ करोड रुपैयाँसम्म कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने भएको छ ।
त्यसैगरी २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएकालाई २०७८ असोज मसान्तभित्र बुझाएमा शुल्क तथा जरिवानाको ९० प्रतिशत रकम मिनाहा गरिने भएको छ ।
त्यसैगरी निवृत्तभरणबापतको करयोग्य आय गणना गर्दा थप २५ प्रतिशत रकम छुट दिइने भएको छ । अब करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्यासको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाइने भएको छ ।
त्यसैगरी, ढुवानी सेवा, ढुवानी सेवाको भाडा, कार्गो सेवा, ई–लाइब्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ तथा टुर प्याकेजको सेवा शुल्क र उत्पतीको प्रमाणपत्र जारी गर्न लाग्ने शुल्कमा मूल्य अभिवृद्धि कर छुट दिइएको छ ।
अक्सिजन ग्यास, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरलगायतका अन्य जीवनदायक सामग्री आयात, उत्पादन तथा बिक्री वितरणमा लाग्ने भन्सार महशुल, मूल्य अभिवृद्धि कर र अन्तशुल्क २०७८ साल पुष मसान्तसम्मका लागि छुट दिइएको छ ।
विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातको साधनको प्रयोगको बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तशुल्क पूरै खारेज गरी भन्सार महशुलसमेत घटाइएको छ भने इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर १ प्रतिशत कायम गरिएको छ ।
रेफ्रिजेरेटर, राइसकुकर, पंखा लगायतका विद्युतीय उपकरणको अन्तशुल्क खारेज गरी भन्सार महसुल घटाइएको छ । शिशु स्वास्थ्य र पोषणलाई बढावा दिन बच्चाले खाने दूधको भन्सार महशुल ५० प्रतिशतले घटाएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
मूल्य अभिवृद्धि कर
उद्योग व्यवसायीले कोभिड महामारीले प्रभावित भएको अर्थतन्त्र चलायमान बनाउन मूल्य अभिवृद्धि करको दर घटाउन माग गरे पनि सरकारले यथावत राखेको छ । भन्सार महशुलको दरमा भने सामान्य समायोजन गरेको छ ।
मदिरा, बियर, वाइन, चुरोट, सुर्तिजन्य, तथा हल्का पेय पदार्थमा अन्तशुल्क वृद्धि गरिएको छ । साना करदातालाई लाग्दै आएको करको दर यथावत राखी पूर्वानुमानित आय विवरण बुझाउने कारोबारको सीमा २० लाखबाट ३० लाख पुर्याइएको छ । कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा ५० लाख बाट १ करोड पुर्याइएको छ ।
व्यावसायिक कृषि आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिइएको छ । सामूहिक व्यावसायिक खेती गर्ने कृषि सहकारी संस्थाले आयात गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड १९ विरुद्ध खोपको व्यवस्थाबाट परिस्थिति सामान्यीकरणतर्फ उन्मुख भई आर्थिक गतिविधि लयमा फर्किने विश्वासको आधारमा आगामी आर्थिक वर्ष ६ दशमलब ५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको छ । त्यसैगरी, मुद्रास्फीति ६ दशमलब ५ प्रतिशतमा सीमित राखिने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८, २१:४२:४५