१२ जेठ, काठमाडौं । कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसलसमेत बन्द गर्ने निर्णय गर्नु परेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन् ।
काठमाडौैं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर समेत बन्द गर्ने प्रशासनको निर्णय अव्यावहारिक भएको भन्दै गुनासो आइरहेका बेला प्रजिअ भट्टराईले सर्वसाधारणकै लागि यो निर्णय लिइएको अनलाइनखबरलाई बताए ।
‘व्यावहारिकता हेरेरै पानी, फलफूल र तरकारीलाई रोकेका छैनौं, दाल, चामल त एक हप्तालाई किनेर राख्दा भइहाल्छ,’ भट्टराईले भने, ‘त्यसका लागि दुई दिन समय पनि दिएका छौं ।’
दुई दिनसम्म सबै पसल खुल्ने भएकाले भिडभाड नहुने उनले बताए । भट्टराईले थपे, ‘निषेधाज्ञा मात्रै अचूक उपाय होइन, जनता आफैंले पनि सहयोग गर्नुपर्यो । एक साता गुन्द्रुक, चना र भात खाँदा केही हुँदैन ।’
भट्टराईले ज्यानभन्दा ठूलो अरु कुरा नभएको भन्दै नागरिकलाई प्रशासनको निर्णयलाई सकरात्मक रुपमा लिइदिन आग्रह गरे । उनले थपे, ‘प्रशासनले निषेधाज्ञा लगाएर जमघट नगर भन्यो तर, किनमेलका नाममा पसलहरुमा भिड बढ्यो । जनताले सतर्कता अपनाइदिएको भए यो निर्णय गर्नैपर्ने थिएन ।’
एक सातापछि निर्णयमाथि पुनर्विचार हुने प्रशासनका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार यो बीचमा कसैलाई धेरै समस्या भए प्रशासनमा खबर गर्न पनि सक्नेछन् ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलबार पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने गरी एक साता निषेधाज्ञा थप गरेको थियो । प्रशासनले सरकारी सवारीसाधनलाई पनि दिउँसो हिँड्न रोक लगाएको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।