बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाको सहयोगमा कम्तीमा एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने योजना एनआरएनए यूकेले बनाएको छ । शनिबारको आपतकालीन बैठकबाटै उपस्थित संघसंस्थाका प्रतिनिधिले ६४ वटा कन्सन्ट्रेटर बराबरको सहयोग प्रतिबद्धता गरिसकेका छन ।
शनिबार लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी समेतको रोहबरमा भएको आपतकालिन बैठकमा अक्सिजन कन्सन्ट्रेटर सहयोग पठाउने घोषणा गरिएको हो । बैठकमा सहभागीहरुले संस्थागत तथा व्यक्तिगतरुपमा समेत अक्सिजन कन्सन्ट्रेटर किन्न सहयोग गर्ने घोषणा गरेका थिए । एउटा अक्सिजन कन्सन्ट्रेटर किन्न करिब ७ सय डलर पर्ने जनाइएको छ ।
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि राजदूत रेग्मीले मातृभूमिका लागि बेलायतस्थित नेपालीको सहयोग प्रशंसनीय भएको बताउंदै अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल पठाउन समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका थिए । अक्सिजन कन्सन्ट्रेटरको खरिद तथा वितरणमा सरकारी स्तरबाट सम्भव हुने सबै सहयोगको पहल गर्ने विश्वास दिलाए ।
एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतस्थित सबै नेपाली संघसंस्थासँग समन्वय गर्दै सक्दो चाँडो अक्सिजन कन्सन्ट्रेटर नेपाल पुर्याउने कोशिश् गर्ने बताइन । आपतकालिन सहयोगको अभियानमा सहयोग गर्ने दूतावास एवम् सबै संघसंस्थाप्रति उनले आभार प्रकट गरिन ।
बैठकले नेपाललाई सहयोग जुटाउने तथा पठाउने प्रायोजनमा एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा एक ‘स्टेरिङ’ कमिटी निर्माणको घोषणा गरेको छ ।
समितिले परिस्थितिको मुल्यांकन गर्दै सोहीअनुसार सहयोग अभियान अघि बढाउने र आवश्यकताअनुसार विभिन्न उपसमितिहरु गठन गर्न सक्ने भनिएको छ ।