काठमाडौं । निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रालय, चिकित्सक, अस्पताल प्रशासन र निजी क्षेत्रका अधिकारीसँग गरेको छलफलमा निजी क्षेत्रका प्रतिनिधिले उक्त प्रतिबद्धता जनाएका हुन् ।
निजी क्षेत्र तथा अस्पताल प्रशासनका अधिकारीले सबै क्षेत्र एकजुट भएर लाग्ने हो भने एक सातामा अक्सिजनको समस्या समाधान हुने र त्यसको लागि सरकारको सहयोग आवश्यक रहेको बताएका थिए । छलफलमा स्वास्थ्य क्षेत्र विज्ञहरुले अस्पतालमा जनशक्ति र अक्सिजन अभाव भएको भन्दै यस्तै अवस्था रहे अवस्था झनै भयावह हुन सक्ने भन्दै सचेत गराएको छलफलमा सहभागी अधिकारीहरु बताउँछन् ।
स्वास्थ्य क्षेत्रका विज्ञ तथा निजी क्षेत्रसँगको छलफलमा पनि प्रधामन्त्री ओलीले सरकारले केही गरेन भन्ने आरोप लागेको भन्दै सरकारले गरेको काम नदेखेको गुनासो गरेका थिए । सरकारले कोरोना परीक्षण गर्ने ल्याब, अस्पतामा सघन उपचारकक्ष तथा आइसोलेसन सेन्टर स्थापना गर्ने कार्य गरिरहेको उनको भनाइ थियो ।