नेपाली साहित्य, कला, लोकसंस्कृतिका साथै चलचित्र क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील वरिष्ठतम् व्यक्तित्व चेतन कार्कीको ८२ वर्षको उमेरमा निधन भएको छ ।
केही दिनयता कोरोना संक्रमित भई उपचाररत कार्कीको आइतबार बिहान सवा १० बजे निधन भएको कवि मुरारी सिग्देलले जानकारी दिए बाल्यकालमै पिताजीका साथ लागेर स्याङ्जाबाट देहरादुन पुगेका उनले त्यहीँ उच्च शिक्षा हासिल गरेका थिए । त्यसउप्रान्त नेपाल फर्किएर सरकारी सेवामा कार्यरत उनी तिनताक गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा पनि क्रियाशील रहे । सरकारी जागिर छोडेपछि फिल्म निर्देशक हिरासिंह खत्रीको सम्पर्कमा पुगेका कार्कीले चलचित्र लेखनका साथै केही नेपाली फिल्महरूको निर्देशन पनि गरे । पछिल्लो समय सांस्कृतिक अनुसन्धान र अन्वेषण तथा लेखनमा कार्कीको समय बितिरहेको थियो ।
उनले लेखेर रेकर्ड भएका दर्जनौँ गीत आज पनि स्रोताको मनमस्तिष्कमा रहेको छ । उनका ‘दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन…’, ‘बैनीको दया छ भने रोदीघर दाइ नाच नभने’, ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो…’, ‘यी ओठ तिम्रा मुस्कानलगायत’ गीतहरूले आज पनि स्रोताको मन छुन्छन् ।