सुनसरी
कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास गरिएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले संयुक्त रूपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन्।

भारत सरकारको करिब १६ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो केन्द्र उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत कार्यान्वयन गरिनेछ। परियोजना दुहवी नगरपालिकामार्फत सञ्चालन हुनेछ।कार्यक्रममा बोल्दै दुहवी नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै यस केन्द्रले नगर क्षेत्रमा दिगो फोहोरमैला व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल र भारतबीच नजिकका छिमेकीको रूपमा बहुआयामिक सहकार्य रहँदै आएको उल्लेख गर्दै यस्ता परियोजनाले पूर्वाधार विकासलाई टेवा पुर्याउनुका साथै समृद्धिको दिशामा नेपाल सरकारको प्रयासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।