भरतपुर ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को चितवन शाखाको अधिवेशन गम्भीर विवादको भुमरीमा फसेको छ ।गत पुस २ गते सम्पन्न अधिवेशनमा व्यापक धाँधली, किर्ते र फर्जी मतदान भएको तथ्य बाहिरिएसँगै इक्यानभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको हो ।अधिवेशनमा भोजबहादुर खड्का प्यानलले शक्ति र पहुँचको दुरुपयोग गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पारेको भन्दै पराजित पक्षले कडा आपत्ति जनाएका छन् ।चितवन अधिवेशनमा देखिएको धाँधलीको निष्पक्ष छानविनका लागि असन्तुष्ट पक्षले केन्द्रिय कार्यसमितिमा उजुरी दिएका थिए ।सोही उजुरीका आधारमा केन्द्रले निवर्तमान अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा सल्लाहकार महेश कुमार कार्की र मञ्जित ढकाल सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।१५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको यो समितिलाई असन्तुष्ट पक्षले पूर्णतः अस्वीकार गरिदिएको छ ।छानविन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउँदै अध्यक्षका उम्मेदवार प्रज्वल पौडेल र सुदिप भट्टराई पक्षले समितिका सदस्य मञ्जित ढकाल स्वयं चितवन अधिवेशनमा एक पक्षको प्यानलमा खुलेर लागेकाले उनीबाट निष्पक्षताको आशा गर्न नसकिने बताएका छन् ।“स्वार्थको द्वन्द्व हुने पात्रलाई नै छानविनको जिम्मेवारी दिनु भनेको दोषीलाई उन्मुक्ति दिनु र संस्थाको लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गर्नु हो,” असन्तुष्ट पक्षको ठहर छ ।यसबारे जाँचबुझ समितिका संयोजक प्रकाश पाण्डेले कार्य व्यस्तताको कारण देखाउदै प्रतिकृया दिएनन् ।



कसरी भयो फर्जी मतदान ?
अधिवेशनमा कुल ६१ मतदाता रहेकोमा २ जना विदेशमा रहेका कारण ५९ मत मात्र खस्नुपर्ने थियो । तर, विदेशमा रहेका आत्माराम कंडेलको नाममा मताधिकार नै नपाएका दिलिप कंडेलले मतदान गरेपछि निर्वाचनको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको छ ।अध्यक्षका उम्मेदवार प्रज्वल पौडेलका अनुसार, यो फर्जी मतदानले कार्यसमिति सदस्यको परिणाममा प्रत्यक्ष असर पारेको छ ।सदस्य पदका उम्मेदवार मनोज मगर र प्रचण्डराज न्यौपानेको समान २१ मत आएपछि गोलाप्रथा गरिएको थियो ।पौडेल भन्छन्, “यदि त्यो फर्जी मतदान नभएको भए गोलाप्रथाको स्थिति नै आउने थिएन र परिणाम अर्कै हुन्थ्यो ।यो सरासर किर्ते र लोकतान्त्रिक विधिको उपहास हो ।”तर चितवनका निर्वाचन अधिकृत पुष्पराज भट्टराईले निस्पक्ष निर्वाचन भएको दाबी गरेका छन् ।केन्द्रले आफुलाई दिएको जिम्मेवारी निस्पक्ष रुपमा पुरा गरेको भन्दै निर्वाचन परिणाम स्वीकार्नुको विकल्प नरहेको उनले बताए ।जाँचबुझ समितिले यसबारे कुनै जानकारी वा सोधपुछ नगरेको भट्टराईले जानकारी दिएका छन् ।यसबारे उनले थप प्रतिकृया दिन मानेनन् ।
केन्द्रिय अधिवेशनमै प्रभाव
चितवनको यो विवादले आगामी पुस २८ र २९ गते काठमाडौंमा हुन लागेको इक्यानको केन्द्रिय अधिवेशनलाई समेत प्रभावित बनाउने देखिएको छ ।असन्तुष्ट पक्षले इक्यानको निर्वाचन आचारसंहिता र निर्देशिका २०८२ को हवाला दिँदै विवादित व्यक्तिहरूको उम्मेदवारी खारेज गर्न माग गरेको छ ।निर्देशिकाको बुँदा नम्बर ६ (घ) मा स्पष्ट उल्लेख छ– “संघमा कुनै पनि प्रकारको उजुरी परेको र सो सम्बन्धमा अनुसन्धान, तहकिकात तथा निरुपण नभएको अवस्थामा रहेको व्यक्ति यस निर्वाचनमा उम्मेदवार बन्न अयोग्य हुनेछ ।”यही प्रावधानलाई आधार मान्दै असन्तुष्ट समूहका प्रज्वल पौडेलले प्रश्न गरेका छन्, “चितवनको निर्वाचनलाई विवादित बनाउने र धाँधलीमा संलग्न पात्रहरू कसरी केन्द्रिय अधिवेशनमा उम्मेदवार बन्न सक्छन् ?”उनीहरूले केन्द्रिय अध्यक्षका दाबेदार लक्ष्मण पौडेल, अर्का दाबेदार दिपकराज भुषाल, उपाध्यक्षका उम्मेदवार मन्जित ढकाल र चितवन निर्वाचन अधिकृत रहेका पुष्पराज भट्टराईको उम्मेदवारी तत्काल खारेज गर्न माग गरेका छन् ।

माग सम्बोधन नभए कडा कदमको चेतावनी
विवादको उचित निरुपण नगरी र छानविन समितिलाई पुनर्गठन नगरी जबरजस्ती केन्द्रिय अधिवेशन गरिए त्यसले संस्थालाई थप विभाजनतर्फ लैजाने चेतावनी पौडेल र भट्टराई पक्षले दिएका छन् ।उनीहरूले निर्वाचन समिति निष्पक्ष नभएको र छानविनमा धाँधली गर्नेहरूकै संलग्नता रहेको भन्दै संस्था बचाउनका लागि केन्द्रिय नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन् ।चितवन इक्यानमा देखिएको यो किर्ते काण्ड र त्यसपछि उत्पन्न विवादले यतिबेला शैक्षिक परामर्श क्षेत्रमा हंगामा मच्चिएको छ ।